भुटान छ अंकसहित शीर्षमा

  • बिहीबार, मंसिर १९, २०७६

काठमाडौ । १३ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा भुटानको उत्कृष्ट प्रदर्शन बिहीबार पनि जारी रह्यो र उसले दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई २–१ ले हरायो । भुटानले फुटबलको कुनै पनि स्तरमा माल्दिभ्सलाई हराएको यो पहिलो पटक हो । यो जितले पा“च टिम सम्मिलित प्रतियोगिताको अंक तालिकामा भुटान शीर्ष स्थानमा उक्लेको छ ।
भुटानको तीन खेलबाट छ अंक भएको छ । माल्दिभ्स भने समान तीन खेलबाट दुई अंकमा सीमित रह्यो । माल्दिभ्सले आप्mनो सुरुआती दुवै खेल बराबरी खेलेको थियो । यो नतिजाले भुटानको फाइनल प्रवेशको सम्भावना बलियो भएको छ भने स्वर्णको बलियो दावेदार मानिएको माल्दिभ्सलाई अब त्यो सम्भावना कायम राख्न निकै कठिन हुनेछ ।
दशरथ रंगशालामा भएको यू–२३ फुटबलमा भुटानले गोलरहित बराबरीपछि दोस्रो हाफमा दुई गोल गरेको थियो । उसका लागि ५५ औं मिनेटमा छिमी दोर्जेले पहिलो गोल गरे । यस्तै ८४ औं मिनेटमा फुब थिन्लले दोस्रो गोल गरे । खेलको अन्त्यतिर माल्दिभ्सका लागि हाम्जा माहेमदले सान्त्वना गोल फर्काए र यसले खेलमा कुनै फरक पारेन् ।
जितमा भुटानी प्रशिक्षक पेमाले खुसी व्यक्त गरे र यो जितलाई ऐतिहासिक माने । उनले भने, ‘यो जितमा हामी कति खुसी छौं भनेर भन्न नै सकिरहेका छैनौं । हामी आज जितका लागि पूर्ण हकदार थियौं ।’ बिहीबार नै भएको दोस्रो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हरायो । बंगलादेशका लागि महबबुर रहमानले दसौं मिनेटमा गोल गरे ।
जितले बंगलादेशको तीन खेलबाट चार अंक भएको छ र उसले फाइनल पुग्ने आप्mनो सम्भावनालाई जीवन्त पारेको छ । बंगलादेश यो जितले अंक तालिकाको तेस्रो स्थानमा उक्लिन पनि सफल रह्यो । श्रीलंका भने दुई अंकमै सीमित रह्यो । आयोजक नेपालको चार अंक छ र दोस्रो स्थानमा छ । नेपाललाई बंगलादेशमाथि गोल अन्तरको फाइदा छ ।

Related News