टेबलटेनिसमा नेपाललाई ६ पदक

  • शुक्रबार, मंसिर २०, २०७६

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत टेबलटेनिसमा नेपालले ६ पदक हात पारेको छ ।
सोमबारदेखि लैनचौरस्थित टिटिहलमा सुरु भएको टेबलटेनिसमा नेपालले पुरुष टिम इभेन्टमा रजत, महिला टिम इभेन्टमा कास्य, पुरुष सिंगल्समा दुई कास्य, मेन्स डबल्स र मिक्स डबल्समा गरि जम्मा ६ पदक हात पारेको छ ।
पुरुष सिंगल्सतर्फ शुक्रबार भारतीय खेलाडीसँग सेमिफाइनलमा पराजित भएका नेपाली खेलाडी स्यान्टु र पुरुषोत्तमले टेबलटेनिसको साग इतिहासमा सिगल्समा पहिलो पटक पदक जितेका हुन् ।
सेमिफाइनलमा स्यान्टु श्रेष्ठ भारतीय खेलाडी अमलराज एन्थोनिसँग ४–० को सेटमा पराजित भए । उनी एन्थोनीसँग ११–४, १२–१०, ११–८, ११–२ को सेटमा पराजित भए ।
यता अर्को सेमिफाइनलमा भारतीय खेलाडी हर्मित देशाईसँग अनुभवी खेलाडी पुरुषोत्तम बज्राचार्य ४–० को सेटमै पराजित भए । उनी ११–५, ११–४, ११–१ र ११–४ को सेटमा पराजित भए ।
काठमाडौंमा भएको सागमा टेनिसको सिंगल्सतर्फ नेपालले दुई कास्य जितेको छ ।
टेबलटेनिसमा नेपालले पुरुष टिम इभेन्टमा जितेको रजत पदक पनि ऐतिहासिक बन्यो । शिव सुन्दर गोथे, स्यान्टु श्रेष्ठ र पुरुषोत्तम श्रेष्ठ टिममा रहेको नेपाल पहिलो पटक टिम इभेन्टको फाइनलमा पुगेको थियो ।
तर, फाइनलमा भारतसँग पराजित भएपछि घरमै भएको सागमा स्वर्ण जित्नबाट नेपाली टोली चुकेको थियो ।
टेबलटेनिसमा चौथो पदक महिला टिम इभेन्ट्समा नेपालले कास्य जितेको थियो । नविता श्रेष्ठ, रविना महर्जन र सिक्का सुवाल टोलीमा रहेको टिमले कास्य जितेको थियो ।
यसअघि नेपालले मेन्स डबल्स र मिक्स डबल्समा कास्य जितेको थियो । मेन्स डबल्समा स्यान्टु श्रेष्ठ र विनेश खनियाको जोडिले कास्य हात पारेको थियो भने मिक्स डबल्समा नविता श्रेष्ठ र स्यान्टुले कास्य जितेका थिए ।
महिलातर्फ सिंगल्समा भारतले स्वर्ण र रजत जितेको छ भने श्रीलंकाले दुई कास्य जितेको हो ।
पुरुषतर्फ कास्य नेपालले जितेपनि स्वर्ण र रजत भारतले जितेको छ ।

Related News