महिला फुटबल: माल्दिभ्सलाई काश्य

जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला फुटबलमा माल्दिभ्सले काश्य पदक हात पारेको छ । पोखरास्थित फुटबल स्टेडियममा भएको खेलमा माल्दिभ्सले श्रीलंकालाई २–१ गोलअन्तरले पराजित गरेको हो ।
राउन्ड रोबिन लिग आधारमा भएको खेलमा श्रीलंका र माल्दिभ्स दुवैले जारी प्रतियोगितामा खाता खोल्न सकेका थिएनन् । दुवै नेपाल र भारतसँग पराजित हुँदै तेस्रो स्थानका लागि भिडेका हुन् । लिगमा तल्लोस्थानमा रहेकैले शनिबार भएको खेलबाट काश्य पदक छिनोफानो गरिएको हो ।
खेलको अग्रता माल्दिभ्सका ऐसथ फिरुसाले ४३ औं मिनेट गोल गर्दै लिएकी थिइन् । पहिलो हापको अन्तिमा समयमा गोल खाएपछि श्रीलंका दबाबमा परेको थियो । लगत्तै दोस्रो हापको पहिलो मिनेट (४६)औं मिनेटमा माल्दिभ्सकै अमिनाथ सामिलाले गोल गर्दै अग्रता दोब्बर गरेकी थिइन् ।
श्रीलंकाकी चलानी एकनायकाले ७१ औं मिनेटमा गोल गर्दै माल्दिभ्सको गोलअन्तर घटाएकी थिइन् । तर, बाँकी समयमा पाएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा भने श्रीलंका साग इतिहासमा काश्य पदक चुम्नबाट चुकेको छ ।
लिग चरणको अन्तिम खेल भने आजै दिउँसो २ बजे नेपाल र भारत भिड्ने छन् । यद्यपि दुवै टिमले हारेपनि जितेपनि स्वर्ण पदकका लागि पुनः फाइनलमा भिड्ने छन् । लिग चरणमा दुवै टिम शीर्षस्थानमा रहेकाले एक खेल अगावै दुवै टिमले फाइनल यात्रा पक्का गरेक हुन् ।

Related News